एसपी रजौरेलाई विभागीय कारबाही गर्न महानिरीक्षक सिंहको निर्देशन  « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

एसपी रजौरेलाई विभागीय कारबाही गर्न महानिरीक्षक सिंहको निर्देशन 


२७ कार्तिक २०७९, आइतबार


नेपाल प्रहरी

काठमाडौँ । प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले धनुषाका एसपी वसन्त रजौरेमाथि विभागीय कारबाही गर्न मधेस प्रदेश प्रहरी कार्यालयलाई निर्देशन दिएका छन्।

मातहतमा राम्रोसँग निगरानी र नियमन गर्न नसकेको आरोपमा उनीमाथि कारबाही गर्न मधेस प्रदेशका प्रहरी प्रमुख मसउद आलम खाँलाई निर्देशन दिएका हुन्।

प्रदेशस्तरीय सुरक्षा स्तरीय गोष्ठी चलिरहेकै वेला गत साता धनुषामा कार्यरत प्रहरी नायब निरीक्षक घुससहित पक्राउ परेका थिए। नगराइन नगरपालिका-२ जटहीस्थित पसलबाट चार हजार घुस लिँदै गर्दा नायब निरीक्षक देवकीलाल चौधरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले १७ कात्तिकमा रंगेहात पक्राउ गरेको थियो। त्यसवेला गृहमन्त्री बालकृष्ण खाण, गृहसचिव विनोदप्रकाश सिंह, आइजिपी सिंहलगायत उच्च प्रहरी अधिकारी सुरक्षा गोष्ठीका लागि धनुषामै पुगेका थिए। 

मातहतमा राम्रो कमान्ड गर्न नसकेको भन्दै एसपी रजौरेमाथि कारबाही गर्न सुरक्षा सम्मेलनपछि महानिरीक्षक सिंहले निर्देशन दिएको प्रहरी उच्च स्रोत बताउँछ। तर, मधेस प्रदेश प्रहरी कार्यालयले भने अझै कारबाही प्रक्रियाअघि बढाएको छैन। आफू केही दिन कार्यालयबाहिर रहेकाले कारबाही प्रक्रियाबारे जानकार नभएको डिआइजी खानले बताए। पछिल्लो केही महिनायता मधेसका सीमानाकामा विकृति बढेको उजुरी प्रहरी प्रधान कार्यालयमा परेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस