६० वर्ष पुरानो कर्णाली प्रदेश अस्पताललाई प्रतिष्ठान बनाउने प्रयास « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

६० वर्ष पुरानो कर्णाली प्रदेश अस्पताललाई प्रतिष्ठान बनाउने प्रयास


६ आश्विन २०७९, बिहिबार


काठमाडौँ । कर्णाली प्रदेश सरकारले सुर्खेतको वीरेन्द्रनगरमा रहेको कर्णाली प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रूपान्तरण गर्न छलफल सुरु गरेको छ। यस सम्बन्धमा प्रदेश सरकारले स्वास्थ्यसम्बन्धी विज्ञहरूको धारणा लिन थालेको छ।

सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा कर्णाली अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा विकास गर्ने घोषणा गरेको थियो। 

नीति तथा कार्यक्रममा भनिएको छ,’प्रदेश अस्पताललाई मानित विश्वविद्यालयको अवधारणाअनुसार स्वास्थ्य विज्ञान प्रतिष्ठानको रूपमा विकास गरी प्रदेशभित्रै स्वास्थ्य क्षेत्रको दक्ष जनशक्ति उत्पादन गरिनेछ।’

कर्णाली प्रदेश अस्पतालको इतिहास २०१९ सालमा सुरु हुन्छ। सुर्खेत जिल्लाको तत्कालीन सदरमुकाम गोठिकाँडामा एउटा स्वास्थ्य केन्द्र थियो। कोठीकाँडा सुर्खेत उपत्यकाबाट करिब १७ किलोमिटर माथि डाँडामा पर्छ।

२०२४ सालमा जिल्ला सदरमुकाम सुर्खेत उपत्यकामा सारिएपछि स्वास्थ्य केन्द्र पनि स्थानान्तरण भयो।

वीरेन्द्रनगरमा स्थानान्तरण भएको स्वास्थ्य केन्द्र २०२९ सालमा १५ शैय्याको जिल्ला अस्पतालका रूपमा विकास भयो। २०४९ सालमा २५ शैय्यामा स्तरोन्नति गरियो। उक्त अस्पताल २०६२ फागुन ७ गते मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालका रूपमा स्तरोन्नति गरियो। त्यस बेला मध्यपश्चिमाञ्चल विकास क्षेत्रमा १५ वटा जिल्ला थिए।

सङ्घीयतासँगै २०७५ कात्तिक १३ गते यो अस्पताल कर्णाली प्रदेश अस्पतालमा रूपान्तरण गरिएको हो। प्रदेश सरकारको मुख्य लगानी र संघीय सरकारको सहलगानीमा विशेषज्ञ सेवासहितको प्रदेश अस्पतालका रूपमा सञ्चालन गर्न लागिएको हो।

हाल कर्णाली अस्पतालले तीन सय शैय्याको सेवा दिँदै आएको छ। यसलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रूपान्तरण गर्न प्रदेश सरकारले ऐनको प्रारम्भिक मस्यौदा बनाएको छ।

हाल जुम्लामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान छ। यो कर्णालीको एक मात्र स्वास्थ्य विज्ञान प्रतिष्ठान हो।

Tags :
प्रतिक्रिया दिनुहोस