काठमाडौँ । काठमाडौँको गोठाटारमा गोली लागेर उपचारको क्रममा ज्यान गुमाएका सर्लाही घर भएका मोहम्मद दर्जी उर्फ लाल मोहम्मदको शरीरमा चार गोली लागेको पुष्टि भएको छ । त्रिवि शिक्षण अस्पतालका चिकित्सकहरूले उनको शरीरमा ४ गोली लागेको बताएका हुन् ।
पोस्टमार्टममा संलग्न चिकित्सकहरूका अनुसार मोहम्मदको टाउकोमा २ गोली लागेको छ । दाहिने छातीमा १ गोली र दाहिने तिघ्रामा १ गोली लागेर उनको मृत्यु भएको चिकित्सकको प्रारम्भिक पोस्टमार्टम रिपोर्टबाट थाहा भएको छ ।
कागेश्वर मनोहरा नगरपालिका-८ स्थित गोठाटारमा ‘एभेन्जर इन्टरप्राइजेज वर्ल्ड बेस्ट गार्मेन्ट’का सञ्चालक मोहम्मदलाई गोली लागेपछि प्रहरीले सुरुमा शंकरापुर अस्पतालमा लगेको थियो । नारायणटारस्थित शंकरापुर अस्पतालमा पुग्दा उनी अचेत भैसकेका थिए ।
७ बजे उनलाई प्रहरी र परिवारले अस्पताल लगेका हुन् । शंकरापुरबाट उनलाई महाराजगञ्ज स्थित शिक्षण अस्पतालमा लगिएको थियो ।
यसैबिच मोहम्मदमाथि गोली प्रहार भएको घटना छानबिन गर्न समिति गठन गरिएको छ । हत्या अनुसन्धान र छानबिन गर्न उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी जनक भट्टराईको नेतृत्वमा समिति गठन गरिएको आइजिपीको सचिवालयले जनाइको छ ।
समितिमा एसपी दिनेश मैनाली, सीआईबीका डिएसपी दुर्गा दाहाल र इन्स्पेक्टर गजेन्द्र रावल सदस्य छन् ।