काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा निरन्तर गिरावट आउन थालेको छ । अघिल्लो साता ३० अंकले घटेको नेप्से परिसूचक पछिल्लो समय निरन्तर घटिरहेको छ । आइतबार ११ अंकले घटेको नेप्से परिसूचक आज १३ अंकले घटेको हो । पछिल्लो समय निरन्तर घटिरहेको नेप्सेमा कारोबार रकममा समेत संकुचन आउन थालेको छ ।
हिजो आइतबार ११ अंकले घट्दा जम्मा ७४ करोड रुपैयाँको कारोबार भएको नेप्सेमा आज ८३ करोड रुपैयाँको कारोबार भएको छ । यसक्रममा २६ लाख १३ हजार कित्ता सेयर किनबेच भएको छ ।
कारोबारमा आएका १३ समूहमध्ये म्युचुअल फण्ड समूहमा भने सुधार आएको छ । यसबाहेक १२ वटा समूह राताम्मे बनेका छन् । जीवन बीमा समूहमा ५२ अंकको गिरावट आउँदा निर्जीवन बीमा समूहमा ४६ अंकको गिरावट आएको छ ।
यस्तै, जलविद्युत र लघुवित्त समूहमा समान ३१/३१ अंकको गिरावट आएको छ । अन्य समूहमा २३ अंकको गिरावट आउँदा वित्त समूह १६ अंकको गिरावट आएको छ । यसैगरी, विकास बैंक समूहमा १४, उत्पादनमूलक समूहमा १३ र होटल तथा टुरिजम समूहमा ६ अंकको गिरावट आएको छ ।
यसैगरी, आज सेन्सेटिभ समूहमा ०.६४ प्रतिशत गिरावट आएको छ । २.३९ अंकको गिरावटसँगै यो परिसूचक ३७२.३४ अंकमा पुगेर रोकिएको छ ।