धनगढी । अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का १५ वर्षीय विनोद शाहीको हत्या आरोपमा १० जनामाथि मुद्दा दायर भएको छ । पक्राउ परेका ४ जना र फरार रहेका ६ जना गरी १० जनामाथि मुद्दा चलाएको हो ।
मुद्दा दायर गर्न भन्दै प्रहरीले पृथ्वी शाही, देवेन्द्र शाही, वीरेन्द्र शाही र महेन्द्र शाहीलाई अदालतमा उपस्थित गराएको छ भने, फरार रहेका अक्कल शाही, सज्जन शाही, कर्ण शाही, शान्ति शाही, द्रौपती शाही र दानमति शाही विरुद्ध पनि मुद्दा दायर गरिएको छ ।
पीडित पक्षले आरोपी भनेका र पक्राउ परेका मेयर अम्बिका चलाउनेसहित नेत्रबहादुर शाही र रामबहादुर शाहीलाई भने अदालतमा उपस्थित गराएन ।
सरकारी वकिल कौशल ढुङ्गानाले उनीहरूमाथि मुलुकी अपराध संहिता २०७४ को दफा ३१ अनुसारको प्रमाण नपुगेको भन्दै मुद्दा अघि नबढाएको बताइएको छ ।