एकादेशमा निकै ठुलो जङ्गल थियो । जङ्गलमा ठुलै सङ्ख्यामा बाघहरू थिए । जङ्गलको चलाख जनावर मानिएको स्याललाई बाघको मासु खान मन लाग्यो ।
छट्टु स्यालले निकै जुक्ति लगाएर दुईवटा बाघको बिच विवाद ल्यायो र विवादलाई उचालेर ‘मर या मार’ को अवस्थामा पुर्यायो।
स्याल दुवै बाघको नजिकको बन्यो र दुबैलाई आफ्नो मामा भएको बतायो । दुवै बाघलाई एक्लै एक्लै भेट्दा झगडाको लागि उचाल्ने र दुवैको आफू ठुलो सहयोगी रहेको कुरा बतायो । आवश्यक पर्दा आफ्नो मामाको लागि ज्यानसम्म दिने कुरा सुनायो । स्यालको धुर्त्याईंले गर्दा एकदिन दुवै बाघ एक आपसमा लड्ने अवस्थामा आई पुगे।
तोकिएको दिन दुवै बाघ एक आपसमा भिड्नको लागि तयार भएर जम्मा भए । दर्शक वा समर्थकको रूपमा स्याल मात्र थियो । स्यालले भन्यो ‘के जोखना हेरिस्या मामा, यो लुतेलाई एकै झम्टामा सिध्याई दिनुस्’ ।
दुवै बाघले आफैलाई सहयोग गरेको सोचेर लडाई सुरु गरे । स्याल यौटा बाघ नजिक गएर दाहिने तिघ्रा र अर्को नजिक गएर देब्रे तिघ्रा ठोक्दै भन्थ्यो ‘जित्ने मेरो मामाले नै हो, बल गर्नुस् मामा बल गर्नुस्, आज यसलाई मार्नुपर्छ, नसके म सिध्याई दिन्छु।’
दुवै बाघ आफैलाई भनेको सोचेर लड्न थाले।
स्यालको यो हरकत त्यतैबाट कतै जाँदै गरेको खरायोले देखेछ । अनि सोधेछ स्याललाई ‘तपाईँको मामा कुन हुन् ? तपाईँको सहयोग कसलाई हो मैले बुझ्न सकिन नि !’
स्यालेले भनेछ -‘यो लडाई नसकिएसम्म मैले जस्तै गरेर यहीँ बस्नु र यसको जवाफ लिन भोलि यहीँ आउनु’
खरायो पनि जित्नुस् मामा जित्नुस् भन्दै कराउँदै बस्यो ।
केही बेरमा यौटा बाघ मर्यो । जित्ने बाघलाई स्यालले भन्यो -‘त्यो पाजीलाई मैले भनेको थिएँ नलड्नु भनेर, सुनेन मर्यो, ठिकै भयो । मेरो मामालाई जिस्काउनेको यस्तै हालत हुन्छ’
विजेता बाघले स्याललाई भन्यो, ‘लौ भान्जा तिमिले मलाई खुब सहयोग गर्यौ, अव सिकार तिमि नै खाऊ’
स्यालले हस् भन्यो ।
भोलिपल्ट खरायो जाँदा स्याल सिनो खाईरहेको थियो । खरायोलाई देख्नासाथ स्यालले भन्यो ‘दुबै बाघमा जुनले जित्छ त्यहीँ हो मेरो मामा, आफूलाई चाहिएको त सिनो मात्र हो’
खरायो छक्क पर्यो ।
यतिबेला नेपालमा स्थानीय निर्वाचन सम्पन्न भएर नतिजासमेत अन्तिम चरणमा छ । बहालवाला र अवकाश लिई सकेका हाकिमरूपी स्यालहरू बुझक्कड मामाहरुकोमा चुनाव जिताएको मैले हो वा आगामी योजना बनाउन जान्ने म नै हो भनेर कुद्दै होलान् ।
ए मेरा बाघ मामाहरू ! तपाँईहरुमध्ये मर्ने जित्ने एकजना हो, जुन मेरो मामा हो । अरू हार्ने मामा वा जित निश्चित भएका मामाहरूले स्याल भान्जाहरूलाई कमसेकम यति प्रश्न त सोधिदिनुस् !
तपाईँले हालसम्म गरेका मुख्य-मुख्य नवीन काम के हो ?
काम गर्दा दबाब आएको भए त्यतिबेला समाचार बन्यो होला, त्यस्तो अभिलेख ?
तपाईँले तत्काल आफ्नो कार्यालयबाट गर्न सक्ने कार्य ?
तपाईँ आफूमा उच्च नैतिकता छ भन्ने आधार ?
म तपाईँको बाघ मामाको समूहमा पर्दिन भन्ने प्रमाण ?







