७७ जिल्लामा मतपत्र पुग्यो, पालिकामा पठाउने तयारी « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

७७ जिल्लामा मतपत्र पुग्यो, पालिकामा पठाउने तयारी


२४ बैशाख २०७९, शनिबार


काठमाडौँ । स्थानीय तह निर्वाचनका लागि ७७ वटै जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र पुगेको छ ।

सडक मार्ग सहज नहुने जिल्लामा हवाई मार्गबाट ढुवानी गरिएको थियो । मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्लाका सम्बन्धित पालिकाका लागि प्याकिङ गराई चाँडै स्थानीय रूपमा मतपत्र ढुवानी गराउने आयोगका मुद्रण अधिकृत बाबुराम कोइरालाले जानकारी दिए ।

उम्मेदवारी मनोनयनपत्र दर्ताको विवरण र निर्वाचन चिह्न प्रदानका आधारमा थप छपाइ गर्नुपर्नेसहित कुल दुई करोड सात लाख ४६ हजार मतपत्र छपाइ भएको थियो । आयोगले वैशाख १२ गतेसम्ममै आवश्यक निर्वाचन सामग्री ढुवानी सम्पन्न गरेको थियो ।

आयोगका विभिन्न प्रदेश निर्वाचन कार्यालय, जिल्ला निर्वाचन कार्यालय, मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका कार्यालयले मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई आयोगले निर्धारण गरेको विषयवस्तुका आधारमा तालिम दिएका छन् ।

कतिपय जिल्लामा तालिम जारी रहेको छ भने कतिपय जिल्लामा तालिम सम्पन्न भएको छ । कार्यालयले आयोगबाट प्राप्त भएका निर्वाचन सामग्री र मतपत्रलाई व्यवस्थापन गर्दै प्याकिङ र वितरणको तयारी गरेका छन् । ती सामग्री चाँडै मतदानस्थल र केन्द्रमा लगिनेछन् ।

सुरक्षाको प्रबन्ध, आचारसंहिता कार्यान्वयनको अनुगमन, नमुना मतदान कार्यक्रमलगायत काममा पनि ती कार्यालय जुटिरहेका छन् ।

प्रदेश निर्वाचन कार्यालयले प्रदेशका मुख्यालय भएका जिल्लाभरका निर्वाचन गतिविधिको नेतृत्व लिन्छन् भने जिल्ला निर्वाचन कार्यालयले सम्बन्धित जिल्लाको जिम्मेवारी पाएका छन् ।

सबै जिल्ला र पालिकामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान र म्यादी प्रहरी गरी आवश्यक सङ्ख्यामा सुरक्षाकर्मी परिचालित गरिएको छ ।

थप सुरक्षाकर्मीलाई तयारी अवस्थामा राखिने र आवश्यकताको आधारमा तत्काल परिचालन गरिने योजनासहित सुरक्षा योजना तयार पारिएको छ ।

आयोगले मतदान स्थल पुग्न, मतदान गर्न र घर फर्कनेसम्मको वातावरणलाई सुरक्षित बनाउन प्रबन्ध गरेको छ ।

निर्वाचनको तीन दिनअघि नै कर्मचारी तथा सुरक्षाकर्मी सम्बन्धित निर्वाचनस्थलमा पुग्नेछन् । त्यसका लागि आवश्यक तयारीका काम भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएका छन् ।

अहिले मतदाता परिचयपत्र वितरण र मतदाता शिक्षाको गतिविधि पनि सञ्चालन भइरहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस