बुटवल । राष्ट्रिय जनमोर्चा पार्टीले स्थानीय तह निर्वाचनका लागि घोषणा पत्र ल्याएको छ ।
आज (बुधबार) रुपन्देहीको बुटवलमा आयोजित एक कार्यक्रममा अध्यक्ष चित्रबहादुर केसीले घोषणा पत्र सार्वजनिक गरेका हुन् ।
घोषणा पत्रमा जनमोर्चाले सङ्घीयता खारेजीको विषयलाई प्राथमिकताका साथ उठाएको छ ।
जनमोर्चाले स्थानीय तह निर्वाचनको मूल नारा नै ‘गणतन्त्र तथा राष्ट्रियताको रक्षा गरौँ, सङ्घीयता खारेज गरौँ’ राखेको छ ।
जनमोर्चाले घोषणा पत्रमा स्थानीय तह जनतासँग प्रत्यक्ष रूपमा जोडिने भएकोले जनताका धेरै काम गर्न सकिने विश्वास व्यक्त गरेको छ ।
‘राष्ट्रिय जनमोर्चाले प्रतिक्रियावादी व्यवस्था अन्तर्गत पनि स्थानीय निकाय वा तहलाई अधिकार सम्पन्न बनाउन जोड दिँदै आएको छ,’ घोषणा पत्रबारे जानकारी गराउन जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘स्थानीय निकाय वा तह दैनिक रूपले स्थानीय जनताका समस्या सेवा तथा विकाससँग प्रत्यक्ष रूपमा जोडिन्छ। त्यसैले स्थानीय निकाय वा तह जनतासँग प्रत्यक्ष रूपमा जोडिने भएकोले जनतासँग जीवित सम्बन्ध कायम गर्न जनताको सेवा, विकास तथा स्थानीय सत्ताको पूर्व अभ्यासका लागि यसको महत्त्वपूर्ण भूमिका रहेको छ।’
गणतन्त्र रक्षाको विषयलाई मूल नारा बनाएको जनमोर्चाले एमालेलाई गणतन्त्रविरुद्ध राजवादीसँग मिल्न सक्ने आशङ्का गरेको छ ।
‘विगतमा गणतन्त्रका लागि सङ्घर्ष गरेको नेकपा (एमाले)को नेतृत्वमा फासिवादी तथा प्रतिगामी प्रवृत्ति देखिएको छ,’ घोषणा पत्रमा भनिएको छ, ‘राजावादी तथा फासिवादी यी दुई वटा बेग्ला बेग्लै धारा गणतन्त्रका विरुद्ध एक हुन सक्ने सम्भावना पनि देखिएको छ।’