काँग्रेस कार्यसमिति बैठक : प्रदेश सभापतिहरू गठबन्धनको विपक्षमा « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

काँग्रेस कार्यसमिति बैठक : प्रदेश सभापतिहरू गठबन्धनको विपक्षमा


११ चैत्र २०७८, शुक्रबार


काठमाडौँ । नेपाली काँग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा प्रदेश सभापतिहरूले आफ्ना धारणा राख्ने क्रम सुरु भएको छ ।

यस क्रममा अधिकांश वक्ताहरूले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने कि नगर्ने भन्नेबारे प्रतिक्रिया दिएका छन् । उनीहरूले गठबन्धन गर्ने विषयलाई केन्द्रबाट निर्णय गर्न नहुने तर्क गरेका छन् ।

कर्णाली प्रदेशका सभापति ललितजंग शाहीले माओवादीले भने झैँ कर्णाली प्रदेशमा गठबन्धन गर्ने हो भने कर्णालीमा काँग्रेसले कुनै पनि स्थानीय तहमा जित्न नसक्ने भन्दै तालमेल गर्न नहुने बताएका छन् ।

यस्तै गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले गठबन्धन गर्न नहुनेमा जोड दिएका थिए । यदि गठबन्धन गर्ने जाने हो भने नेपाली काँग्रेस कमजोर बन्दै जाने सङ्केत गरेका थिए ।

लुम्बिनीका सभापति अमरसिंह पुनले पनि गठबन्धन केन्द्रबाट गर्ने नभएर आवश्यकता अनुसार स्थानीय स्तरबाटै गर्न सकिने सङ्केत गरेका थिए । उनले यदि यस्तै गरी गठबन्धन गर्दै जाने हो भने नेपाली काँग्रेसको हालत भारतीय काँग्रेसको जस्तै बन्ने भन्दै चिन्ता व्यक्त गरेका थिए ।

पार्टी कार्यालय सानेपामा जारी बैठकमा अधिकांश वक्ताहरू तालमेल केन्द्रबाट गर्ने कि आवश्यकता अनुसार स्थानीय स्तरबाट गर्ने भन्नेमा केन्द्रित छन् ।

यस क्रममा वाग्मतीका सभापति इन्द्र बानिया, प्रदेश १ का सभापति उद्धव थापा, मधेस प्रदेशका सभापति कृष्ण यादव र सुदूर पश्चिमका सभापतिले पनि केन्द्रबाट तालमेलको निर्णय गर्ने कुराको विपक्षमा मत व्यक्त गरेका थिए ।

स्थानीय तहको चुनाव नजिकिँदै गर्दा नेपाली काँग्रेसका अधिकांश नेताहरूले केन्द्रबाटै चुनावी तालमेलको निर्णय गर्ने कुराको विपक्षमा अभिव्यक्ति दिँदै आएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस