काठमाडौँ । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले निकट भविष्यमा हुने तीनै तहको निर्वाचनमा केन्द्रित हुन नेता, कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।
नेपाली काँग्रेसको प्रथम प्रदेश अधिवेशनको आज (बिहीबार) भर्चुअल माध्यमबाट उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले केही महिनाभित्रै स्थानीय तहको र एक वर्षभित्र सङ्घ र प्रदेशको निर्वाचन हुने भन्दै पार्टीको अधिवेशन लगत्तै चुनावतर्फ केन्द्रित हुन निर्देशन दिएका हुन् ।
देउवाले पार्टीभित्रको चुनाव हुने हार, जित स्वाभाविक प्रक्रिया र लोकतान्त्रिक अभ्यास भएको भन्दै आगामी दिनमा जनताको विश्वास जित्ने गरी चुनावमा केन्द्रित हुन आग्रह गरे ।
उनले भने, ‘हामी केही महिनाभित्रै स्थानीय तहको निर्वाचन, एक वर्षभित्र सङ्घ र प्रदेशको निर्वाचनमा जाँदैछौं । त्यसैले पनि अधिवेशन लगत्तै हाम्रो ध्यान चुनावतर्फ केन्द्रित हुनुपर्दछ । हाम्रा आन्तरिक चुनावमा हुने जित, हार एउटा स्वाभाविक प्रक्रिया हो । लोकतान्त्रिक अभ्यास हो । त्यसैले तपाईँहरूले आन्तरिक प्रतिस्पर्धालाई लोकतान्त्रिक अभ्यासको रुपमा लिएर आगामी दिनमा जनताको विश्वास जित्ने गरी चुनावमा केन्द्रित हुनुहुनेछ भन्ने मैले विश्वास लिएको छु ।’
प्रधानमन्त्री देउवाले प्रदेश अधिवेशनमा काँग्रेसलाई थप सशक्त र बलियो बनाएर जनताको मन जित्ने रणनीति बनाउने विषयमा पनि छलफल गर्न आग्रह गरे । उनले लोकतन्त्र बलियो भए मात्रै मुलुक समृद्ध हुने भन्दै विकास र समृद्धिको नेतृत्व नेपाली काँग्रेसले मात्रै गर्न सक्ने दाबी गरे ।