चितवनमा किसानलाई राहत रकम वितरण सुरु « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

चितवनमा किसानलाई राहत रकम वितरण सुरु


१६ कार्तिक २०७८, मंगलबार


चितवन । रत्ननगर नगरपालिकाले वर्षाले धान क्षति भएका किसानलाई राहत वितरण सुरु गरेको छ ।

नगरपालिकाले दुई हजार किसानलाई झन्डै रु ९० लाख राहत वितरण गर्ने गरी काम अघि बढाएको छ ।

गत असोज २९, ३० र ३१ गतेको वर्षाले किसानको भित्र्याउने बेलाको धानमा क्षति गरेको थियो । सो नगरपालिकाले वडा नं १ बाट राहत वितरण सुरु गरेको छ ।

नगरप्रमुख नारायण वनले वडा नं १ का किसान ब्रमा चौधरीलाई राहत रकम सोमबार हस्तान्तरण गरेर वितरण कार्यक्रमको औपचारिक सुरुआत गरेका छन् । उनका अनुसार सबै वडामा वितरण गर्ने गरी रकम पठाइसकिएको छ ।

रत्ननगरमा किसानको दुई कट्ठादेखि साढे पाँच बिघासम्मको धानमा क्षति पुगेको छ । वर्षाले १६ वडामा दुई हजार किसानको ९०० बिघा धानखेती पूर्णरूपमा क्षति भएको छ ।

प्रतिबिघा रु १० हजारका दरले रु ९० लाख राहतस्वरुप वितरण हुने कृषि शाखा प्रमुख प्रवीण लामाले जानकारी दिए ।

धान काटेर निइन लगाएको र पानीले भिजेको धानको मात्र राहत प्रदान गरिएको उनले बताए । सबैभन्दा धेरै वडा नं ५ टरौलीका किसान चामुनारायण चौधरीको पाँच बिघा १० कट्ठा क्षेत्रफलमा लगाएको धानखेती कुहिएर नष्ट भएको छ । उनले वडा कार्यालयबाट रु ५५ हजार राहत रकम प्राप्त गर्नेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस