काठमाडौँ । गत साउन २८ गते गठन भएको कुलप्रसाद केसी नेतृत्वको लुम्बिनी प्रदेश सरकारले आज (बुधबार) नयाँ बजेट प्रस्तुत गर्दै छ।
यसअघि शंकर पोखरेल नेतृत्वको सरकारले असार १ गते ल्याएको बजेट फिर्ता पठाएर प्रतिस्थापन विधेयकमार्फत नयाँ बजेट प्रस्तुत गर्न लागिएको हो।
आज (बुधबार) दिउँसो १ बजे बस्ने प्रदेशसभाको बैठकमा आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्ण ध्वज खड्काले बजेट पेस गर्नेछन्।
मन्त्री खड्काले यसअघिको सरकारले अध्यादेशमार्फत ल्याएको बजेटमा संशोधन गरी नयाँ बजेट ल्याउन लागिएको बताए।
तत्कालीन आर्थिक मामिला मन्त्री बैजनाथ चौधरीले प्रस्तुत गरेको बजेटमा प्रतिपक्षमा रहेका दलहरूले राखेका असहमतिका विषयहरूलाई आज ल्याउन लागिएको बजेटमा समावेश गरिएको उनले बताए।
चौधरीले अध्यादेशमार्फत ४० अर्ब ९५ करोड ९७ लाख रुपैयाँको बजेट प्रस्तुत गरेका थिए।
त्यस्तै, अघिल्लो सरकारले लिएको बजेटसम्बन्धी अध्यादेश खारेजीका लागि पनि बुधबार सदनमा प्रस्ताव लैजाने खड्काले बताए।
यता सरकारले नयाँ बजेट पेस गर्ने तयारी गरिरहँदा प्रतिपक्षमा रहेको एमाले भने सदन अवरुद्ध गर्ने तयारीमा देखिएको छ। सूर्य चिन्हबाट निर्वाचित भएका सांसद द्वय अजय शाही र बिमला कुमारी खत्री वलीलाई कारबाही नहुँदासम्म संसद् चल्न नदिने भन्दै एमालेले प्रदेशसभा बैठक अवरुद्ध गर्दै आएको छ।