नेपाली दूतावास बेलायतद्वारा घुम्ती सेवा सञ्चालन « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

नेपाली दूतावास बेलायतद्वारा घुम्ती सेवा सञ्चालन


६ आश्विन २०७८, बुधबार


लन्डन । नेपाली दूतावास बेलायतले लन्डन सहर बाहिर रहेका स्वीन्डेनवासी नेपालीका लागि एक दिने घुम्ती सेवा सञ्चालन गरेको छ ।

नेपाली एसोसिएसन विल्सायरको सहकार्य र आयोजनामा भएको सो घुम्ती सेवामा कोरोना महामारीका कारण दूतावास जान नपाएका थुप्रै नेपाली लाभान्वित भएका छन् ।

लन्डन जान–आउन असहज खेपिरहेका वृद्ध भूपू गोर्खालगायतका नेपालीको सुविधाका लागि सो कार्यक्रम आयोजना गरिएको एसोसिएसनका अध्यक्ष ज्ञानप्रसाद गुरुङले बताए । घुम्ती सेवामा राहदानी नवीकरण, वारेसनामा, एनआरएन कार्डजस्ता सेवा उपलब्ध गराइएको थियो ।

दूतावासका तर्फबाट द्वितीय सचिव रामबाबु नेपाल, सहचारी पुजन पाण्डे र विनोद कार्की उपस्थित भएर सेवा प्रदान गरेका थिए । बिहान ९ः०० देखि साँझ ५ः०० बजेसम्म सञ्चालन गरिएको उक्त घुम्ती सेवामा ४४ व्यक्तिलाई सेवा प्रदान गरिएको गुरुङले जानकारी दिए। संस्थाले राहदानी तयार भएपछि वृद्धवृद्धालाई दुःख नहोस् भनेर आफैँ दूतावास गएर सङ्कलन गरिदिने पनि गुरुङले बताए।

लामो समय खर्चिएर दूतावास पुग्नुपर्ने झन्झटबाट मुक्ति पाएकामा सेवाग्राहीलगायत स्वीन्डेनवासीले खुसी व्यक्त गरेका थिए । नेपाली एसोसिएसन विल्सायरले नेपाली र बेलायती समुदायका लागि निरन्तर सामाजिक कार्य गर्दै आएको छ ।

हालैमात्र संस्थाले स्वीन्डनमा नेपाली सांस्कृतिक महोत्सव आयोजना गरी बेलायतीलाई नेपाली कला संस्कृति, खाना आदिबारे अवगत गराएको एसोसिएसनका अध्यक्ष गुरुङले जानकारी दिए।

सात वर्षअघि बेलायतका लागि कार्यवाहक राजदूतका रूपमा कार्यरत तेजबहादुर क्षेत्रीले सुरु गर्नुभएको यो घुम्ती सेवा पुनः सञ्चालनमा आएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस