पार्टी जाेगाउन एमाले भित्र दौडधुप, ओलीनिकट नेताहरूले भेटे नेपाललाई « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

पार्टी जाेगाउन एमाले भित्र दौडधुप, ओलीनिकट नेताहरूले भेटे नेपाललाई


२० असार २०७८, आइतबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली निकट नेताहरूले भेटेका छन् ।

आइतबार बिहान ओली निकट नेताहरू सुवास नेम्वाङ, विष्णु पौडेल र शङ्कर पोखरेल नेता नेपाललाई भेट्न नेपाल निवास कोटेश्वर पुगेका हुन् । स्रोतका अनुसार नेकपा एकताका लागि छलफल गर्न कोटेश्वर पुगेका नेताहरूले नेपाललाई ओलीसँग भेटेर छलफल गर्नसमेत आग्रह गरेका थिए । छलफलमा नेपाल निकटका नेता घनश्याम भुसाल पनि सहभागी थिए ।

नेकपा भित्र दुई पक्षीय धार फरक फरक ध्रुवतिर लागिरहेका बेला शीर्ष नेताहरूले पार्टी एकताका लागि पहल गरिरहेका छन् । नेपाल र ओलीको सम्बन्ध चिसिएका कारण एकता कठिन परिस्थितिमा गुज्रिरहेको छ ।

शुक्रवार बसेको एमाले केन्द्रीय कमिटी बैठकमा पार्टी अध्यक्ष ओलीले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका एमाले सांसदहरूलाई सोमबार भित्र हस्ताक्षर फिर्ता नगरे पार्टी एकता हुन नसक्ने बताएका थिए । तर नेता बामदेव गौतमले भने उक्त सोमबार सम्मको अल्टिमेटम फिर्ता लिन ओलीलाई आग्रह गरेका छन्।

यस्तै शनिवार बसेको एमाले केन्द्रीय कमिटीको बैठकमा ओलीले सर्वोच्च अदालतको फैसला आउन्जेल हस्ताक्षर फिर्ता नलिनेहरू एमाले हुन नसक्ने बताएका थिए । यता माधव नेपाल समूहका नेताहरूले हस्ताक्षर फिर्ता नलिने जिकिर गरेका छन् । आज प्रतिनिधि सभाविरुद्ध मुद्दामा सभामुख तर्फका वकिलहरूले बहस गर्ने छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस