काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपल श्रेष्ठले झापाको प्रस्तावित बीएण्ड सी मेडिकल कलेजलाई एमबीबीएस सम्बन्धन दिन काठमाडौँ विश्वविद्यालयलाई दबाब दिएकोप्रति नेपाली काँग्रेसले आपत्ति जनाएको छ ।
नेपाली कांग्रेसको शिक्षा विभागका सचिव कृष्णप्रसाद पौडेलले मंगलबार विज्ञप्ति जारी गर्दै सरकार आफैँले बनाएको ऐन, नियम र विभिन्न समयमा गरेको सम्झौता विपरीत बारम्बार विश्वविद्यालयमाथि हस्तक्षेप गर्नु खेदजनक र आपत्तिजनक भएको बताएका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘शिक्षामन्त्री स्वयंले प्रक्रिया मिचेर विश्वविद्यालयको स्वायत्ततामाथि हस्तक्षेप गर्दै राजनैतिक दवाव सिर्जना नगर्न नेपाली कांग्रेसको शिक्षा विभाग सचेत गराउँदछ, अन्यथा यसको परिणाम दुखद हुने जानकारी गराइन्छ ।’
केही दिनअघि काठमाडौँ विश्वविद्यालयको ८९ औँ सिनेट सभामा शिक्षामन्त्री श्रेष्ठले बीएण्डसीलाई सम्बन्धन दिने प्रक्रिया अघि बढाउन दबाव दिएका थिए ।