काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आज पुनः झापा जाँदै छन् । आइतबार झापा गएका प्रधानमन्त्री ओली मङ्गलवार पुनः झापा जान लागेका हुन् ।
झापाको बिर्तामोडमा दुर्गा पर्साईँले एक वर्ष अघि सञ्चालनमा ल्याएको पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटनका लागि उनी झापा जान लागेका हुन् ।
आज बिहान ११ बजे यती एयरलाइन्सको विमानबाट झापा जाने कार्यक्रम रहेका छ ।
उनीसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाल, शिक्षामन्त्री गोपालमान श्रेष्ठ, शहरी विकास मन्त्री प्रभु साह, संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङ, पूर्वमन्त्री महेश बस्नेतसहित कलाकारहरू मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, मनीषा कोइराला लगायत पनि उद्घाटन कार्यक्रममा झापा जानेछन् । यस्तै भारतीय अभिनेतृ सोनाली बान्द्रे पनि कार्यक्रममा झापा आउने कार्यक्रम रहेको छ ।
विभिन्न विकास निर्माणका कार्यक्रम उद्घाटन तथा शिलान्यासका लागि देश दौडाहामा जुटेका प्रधानमन्त्री ओली यसै हप्ता आइतबार झापा र सोमबार पोखरा गएका थिए ।