जगदुल्लामा ५ बेडको कोभिड अस्पताल सञ्चालनमा « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

जगदुल्लामा ५ बेडको कोभिड अस्पताल सञ्चालनमा


२५ पुस २०७७, शनिबार


डोल्पा । डोल्पाको जगदुल्ला गाउँपालिकामा कोभिड अस्पताल सञ्चालन गरिएको छ । बढ्दो कोरोना भाइरसबाट सङ्क्रमितको उपचार गर्न गाउँपालिकामा पाँच बेडको कोभिड अस्पताल सञ्चालन गरिएको हो ।

जुम्ला, जाजरकोटसँग सीमा जोडिएको जगदुल्ला गाउँपालिकामा पछिल्लो समय कोरोना भित्रन सक्ने भन्दै पूवैतयारी स्वरूप अस्थायी कोरोना अस्पताल सञ्चालन गरेको गाउँपालिकाका अध्यक्ष नारासिंह रोकायाले जानकारी दिए ।

गाउँपालिका अध्यक्ष रोकायाका अनुसार जिल्ला सदरमुकाममा कोरोना दैनिक बढी रहेकोले आफ्नो गाउँपालिका क्षेत्रमा पनि सङ्क्रमण हुन सक्ने देखिएकोले पूर्वतयारी थालिएको बताए ।

गाउँपालिकाका पाँच बेडको अस्थायी कोरोना अस्पताल निर्माण गरी सञ्चालनमा समेत आएको प्रमुख प्रशासकीय अधिकृत केशवराज जैसीले जानकारी दिए । जैसीले भने ‘तयारी पहिले नै नगरे सङ्क्रमण फैलिई सके झनै ठुलो खतरा निम्तने भएकोले पनि कोरोना अस्थायी अस्पताल सञ्चालन गरिएको हो ।’

गाउँपालिकाकाले सार्वजनिक सूचना जारी गर्दै गाउँपालिकाबाट सदरमुकाम र छिमेकी जिल्लामा जाँदा अनिवार्य सिफारिस लिनुपर्ने र भित्र प्रवेश गर्दा पिसिआर गरेको हुनुपर्ने उल्लेख गरेको छ । यदि पिसिआर बिनै गाउँपालिकामा प्रवेश गरे १० दिन तोकेको क्वारेनटिनमा बस्नुपर्ने भन्दै सबै सज रहन आग्रह गरेको छ ।

पिसिआर र एन्टीजिन प्रविधिको प्रयोगबाट परिक्षण गरी सङ्क्रमितहरूको उपचार कोरोना अस्थायी अस्पतालमा राखेर उपचार गरिने भएकोले अस्पतालका लागि चाहिने पर्याप्त भएका सबै साधनको व्यवस्थापन गरेको गाउँपालिका अध्यक्ष नारासिंह रोकायाले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस