जाजरकोट । मापदण्डविपरीत निर्माण भएको सडकमा कति बेला दुर्घटना हुन्छ भन्ने चिन्ताले जुनिचाँदे गाउँपालिकाका सर्वसाधारणले पटक–पटक सरोकारवाला निकायले आवाज उठाउँदै आएका थिए ।
कुरा उठाउँदा, उठाउँदै यसै सडकको एकै ठाउँमा दुई पटक जिप दुर्घटना हुँदा आठजनाको मृत्यु भइसकेको छ ।
जुनिचाँदे-१ लोड्नीदेखि मजकोटसम्मको सडक निर्माण गर्दा व्यवसायीले डोजर चालकलाई इञ्जिनीयर बनाएर सडक खनेका थिए । ‘अघिल्लो वर्ष मात्र खनिएको सो सडकमा जिप चल्नै नसक्ने भएपछि गाउँपालिकाले समेत केही रकम विनियोजन गरी सडकलाई केही सजिलो बनाएको थियो’, गाउँपालिकाका कावाध्यक्ष शिवा आचार्यले भने, ‘पटक-पटक सडकको गुणस्तरको कुरा हामीलगायत यहाँका सर्वसाधारणले गर्दागर्दै दुई पटक दुर्घटना भयो । जनप्रतिनिधिभन्दा ठेकेदार बलियो भएको यो देश छ । सडक बनाउँदा हामीसँग कुनै समन्वय गरिएन ।’
भर्खरै मात्र जुनिचाँदे गाउँपालिकाको केही भागमा सडक सञ्जाल जोडिएको छ । जुनिचाँदे मात्र जिल्लाका अधिकांश ठाउँमा डोजर चालकनै इञ्जिनीयर भएर खनिएका सडकमा यो दुर्घटनाको शिकार बन्दै आएको छ । जथाभावी खनिएका सडकमा नियमनकारी निकायले ध्यान नदिँदा अझै कति दुर्घटना हुन्छन् भन्न नसकिने कावाध्यक्ष आचार्यले जानकारी दिए । भर्खरै मात्र साधारण बाटो सञ्चालन भएको यो सडकखण्डमा सडकको गुणस्तरलाई ध्यान नदिँदा समस्या हुँदै आएको छ ।
चालकको पसलमा आगजानी
जुनिचाँदे गाउँपालिका-१ औलमा बुधबार बेलुकी भे १ ज ९३५ नम्बरको जिप दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वडा नं ११ का वडाध्यक्ष ५० वर्षीय अमरबहादुर शाही, ६० वर्षीया कृति शाही, ३२ वर्षीय खेमबहादुर शाही, वडा नं ५ की ३० वर्षीया मालिका बस्नेत, २९ वर्षीय कृष्णबहादुर शाही र लालबहादुर बुढा मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र रेग्मीले जानकारी दिए ।
बेपत्ता भनिएका छेडागाड नगरपालिका–५ का कर्णबहादुर शाहीको परिचान खुलेको छ । चालक गोरखबहादुर बस्नेत सम्पर्कमा नरहेको डिएस्पी किशोर श्रेष्ठले जानकारी दिए । चालकको सुवानाउलीमा रहेको घुम्ती पसलमा पीडितले आगजानी गरेका छन् । पीडितले अझै घटनास्थलमा प्रहरीलाई जान नदिएको डिएस्पी श्रेष्ठले जानकारी दिए ।
जनप्रतिनिमाथि आक्रमणको प्रयास भएका कारण घटनास्थल जान नसकिएको कावाध्यक्ष आचार्यले जानकारी दिए । जुनिचाँदे गाउँपालिकाको कार्यपालिकाको बैठकका लागि सदरमुकाम खलङ्गाबाट पराले जाँदै गरेको जिप दुर्घटना परेको हो । जिपमा सवार जुनिचाँदे-११ का नरबहादुर बुढा घाइते भएका छन् । घाइतेका सुर्खेतस्थित प्रदेश अस्पतालमा उपचार कार्य जारी रहेको छ । जिप खोलामा परेको छ । मृतकमध्ये खेमराज शाही र कृष्णबहादुर शाही स्वास्थ्यकर्मी हुन् ।
शव निकाल्न दिइएन
शव निकाल्न आएका प्रहरीलाई स्थानीयवासीले शव निकाल्न नदिएको प्रहरीले जनाएको छ । मापदण्डविपरीत बनाएको सडकले गाडी दुर्घटना परेको भन्दै शव निकाल्न नदिएको प्रहरीले जनाएको छ । जुनिचाँदे–१ लोड्नेदेखि लुहादहसम्म निर्माण भएको सडक ठेकेदारको लापर्वाहीका कारण मापदण्डविपरीत निर्माण भएको थियो । पटक–पटक सो सडक मापदण्डविपरीत निर्माण भएको आवाज उठे पनि सरोकारवालाको नसुन्दा यो ठाउँमा यातायातका साधन दुर्घटना हुँदै आएका छन् ।
केही महिनाअघि मात्र सोही ठाउँमा जिप दुर्घटना हुँदा मानवीय क्षति भएको थियो । कच्ची कटान गरेको सडकमा निर्माण व्यवसायीले नाफाका लागि जथाभावी गर्दा समस्या उत्पन्न भएको हो । सदरमुकामबाट गए राति नै सशस्त्र प्रहरी, नेपाल प्रहरीलगायतको थप टोली पठाएको भए पनि स्थानीयवासीको अवरोधका कारण सुरक्षाकर्मी नजिक जान नसकेको प्रहरीको भनाइ छ ।







