अछाम । अछाममा बाढीले बगाउँदा वेपत्ता भएका मध्ये थप १ जनाको शव फेला परेकोे छ। गत मंगलबार राती अविरल वर्षासँगै कैलाश खोलामा आएको बाढीले बगाएका रामारोशन गाउँपालिका– ५ का १९ वर्षीय रुपेश साउँदको शव भेटिएको प्रहरीले जनाएको छ।
उनको शव रामारोशन गाउँपालिका –५ र ६ जोड्ने झोलुङ्गे पुल नजिककैको बगरमा फेला परेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। शव शनिबार नै आफन्तले बुझेका छन्।
बाढीमा बगेका वडा नम्बर ५ सैनीबजारका १० जना अझै फेला परेका छैनन्। मंगलबार रातिको बाढीले सैनीबजारका २२ घर बगाउँदा चार परिवारका १७ जना बेपत्ता भएका थिए। बुधबार ६ जना र शनिबार १ गरी ७ जनाको शव भेटिए पनि अझै १० जना बेपत्ता रहेका छन्।







