काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्मचारी समायोजनको काम सम्पन्न भई सङ्घीयताले कार्य प्रारम्भ गरिसकेको बताएका छन् । प्रतिनिधि सभा बैठकमा बोल्दै उनले कर्मचारी समायोजनको काम सम्पन्न भई सङ्घीयताले कार्य प्रारम्भ गरिसकेको बताएका हुन् ।
‘वित्तीय सङ्घीयता कार्यान्वयनमा आएको छ । कर्मचारी समायोजनको काम मूलतः सम्पन्न भएको छ’ उनले भने, ‘हाम्रो सङ्घीयताले कार्यारम्भ गरिसकेको छ । पहिलो वर्ष परिचालन र क्षेत्राधिकारमा रहेको दुबिधा क्रमशः सङ्गलिँदै गएको छ । नयाँ प्रणालीसँगै काममा प्रष्टता आएको छ ।’
उनले नेकपाको सरकारले पहिलो वर्ष आधार वर्षको रूपमा लिएको र दोस्रो वर्षलाई विकास आरम्भ वर्षको रूपमा लिएको भन्दै सङ्घीयता कार्यान्वयन गराउन र संविधानको स्वीकार्यता विस्तार गर्ने काम यो सरकारको पहिलो जिम्मेवारी भएको बताएका छन् ।
उनले भने, ‘७६१ सरकार सञ्चालनका लागि स्रोत र साधन मात्रै होइन भौतिक संरचनाको समेत अपर्याप्तता थियो । एकातिर वित्तीय व्यवस्थापन कर्मचारी समायोजन र कानुनी प्रबन्ध एकैचोटी गर्नुपर्ने आवश्यकता थियो । अर्कोतिर जनतामा रहेको तीव्र गतिको विकासको आकाङ्क्षालाई सम्बोधन गर्नुपर्दथ्यो ।’
यस्तै, संविधानको स्वीकार्यतामा पनि कुनै समस्या नभएको बताउँदै तराइमा बेग्लै राजनीतिक मुद्दा बोकेर क्रियाशील समूहले यसै संविधान अनुरूप चल्ने गरी आफ्नो दल र पहिचान समेत बदलेको बताए । ‘यस सन्दर्भमा तराइमा बेग्लै राजनीतिक मुद्दा बोकेर क्रियाशील समूहले यसै संविधान अनुरूप चल्ने गरी आफ्नो दल र पहिचान समेत बदलेको छ,’ उनले भने, ‘विद्रोह र विखण्डन होइन प्रतिस्पर्धा र लोकतान्त्रिक मूलधारको बाटोमा आफूलाई उभ्याएको छ ।’







