प्रहरी कार्यालयको भवन शिलान्यास « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

प्रहरी कार्यालयको भवन शिलान्यास


९ पुस २०७६, बुधबार


डोटी । लामो समय देखि भौतिक संरचनाको अभाव झेल्दै आइरहेको जिल्ला प्रहरी कार्यालय डोटीको आफ्नो भवन निमार्ण हुने भएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका कार्यालय प्रमुख एवं प्रहरी उपरीक्षक दिलीप सिंह देउवाले बुधवार भवनको शिलान्यास गरेका हुन् ।

कार्यालयको आफ्नो भवन नहुँदा कर्मचारी व्यवस्थापनमा समस्या भएको थियो । भवन अभावमा प्रहरीलाई नियमित कार्यमा अप्ठेरो हुँदै आएको प्रहरी उपरीक्षक देउवाले बताए ।

उनले भने, ‘प्रहरीको आफ्नो गतिलो भवन नहँदाँ सेवा प्रवाहमा असहज हुनुका साथै यन्त्र नमुनाहरू सुरक्षित राख्न, तापक्रम मेन्टेन गर्न, अभियुक्त महिला पुरुष र बालबालिकाहरूलाई अलग–अलग थुनुवा रूपमा राख्न समस्या भएको थियो, अब केही समय पछि सबै समस्याको समाधान हुन्छ ।’

जिल्ला प्रहरी कार्यालयको आफ्नो आवश्यकता अनुसारको भवन निमार्ण भएमा सेवा प्रवाहमा थप प्रभावकारिता आउने जिल्ला सुरक्षा समितिका संयोजक एवं डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताए । उनले भने, ‘जिल्लाको सम्पूर्ण शान्ति सुरक्षा कायम गर्ने जिम्मेवार निकाय प्रहरी प्रशासन हो । प्रहरीको आफ्नो भवन र आवश्यकता अनुसार जनशक्ति नभए सेवा प्रवाहका साथै विपतका घटना, आपत्कालीन घटनाहरूमा पनि छिटो छरितो सेवा प्रवाहमा कठिनाइ हुन्छ, अब प्रहरी कार्यालयको आफ्नो भवन निमार्ण हुँदा धेरै कुराहरूमा सहजता हुनेछ ।’

डोटी जिल्लाको शान्ति सुरक्षाको लागि सबै सुरक्षा निकायका अङ्गहरूबिच समन्वय भई चनाखो अवस्थामा रहेको र डोटेली जनतालाई पूर्णरुपमा शान्ति सुरक्षाको अनुभूति दिलाउने तयारी रहेकोसमेत प्रजिअ पौडेलले बताए ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षकको निवास पनि प्रहरीको आफ्नो होइन । जिल्ला प्रहरी कार्यालय नजिकै रहेको उक्त भवन ०४६–४७ सालतिर तत्कालीन सार्वजनिक निर्माण शाखाले निर्माण गरेको भवन प्रहरी प्रमुखको निवासको रूपमा प्रयोग हुँदै आएको छ । भने अन्य प्रहरी नायव उपरीक्षक र प्रहरी अधिकृत हरू जिल्ला प्रशासन कार्यालयमा बस्दै आइरहेका छन् ।

मूल्य अभिवृद्धि कर सहित ५ करोड ३१ लाखको लागतमा निमार्ण हुन लागेको भवन १८ महिनामा सम्पन्न गर्ने गरी रोयल कन्स्ट्रक्सन निमार्ण कम्पनी धनगढी सँग सम्झौता भएको छ । स्टेमेट अनुसार प्रहरी प्रमुखको निवास, कार्यालय भवन, थुनुवाकक्ष, जुनियर प्रहरी अधिकृत र जवानहरूको भान्सा घर निमार्ण हुने भएको छ ।

जनताको सुरक्षामा रात दिन नभनी खटिने नेपाल प्रहरीका कर्मचारीहरू डोटीमा सुत्ने भवन राम्रो नहुँदा घाम–पानी एवम् हुरीबतासमा पनि जस्ता पाताले छाएका सामान्य भान्सा घरमा रात काट्न बाध्य छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस