काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेख सुधार आएको छ । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर, महाराजगन्जमा उपचाररत प्रधानमन्त्री ओलीलाई अझै केही दिन सघन उपचार कक्ष(आईसीयू)मै राखिने उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् ।
मङ्गलवार पेट दुखेपछि अस्पताल पुगेका प्रधानमन्त्री ओलीको आकस्मिक रूपमा एपेन्डिसाइटिसको अप्रेसन गरिएको थियो । त्यसपछि इलेक्टिभ भेन्टिलेटरमा राखिएको उनलाई बुधवार बिहान आईसीयूमा सारिएको छ ।
प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार भइरहेको छ । ओलीले बुधवार करिब कुर्सीमा बसेर कालो चिया पिएका थिए । उनले चिकित्सकसँग ‘मिडियामा के आएको छ, मेरो स्वास्थ्यबारे ?’ भनेर चिकित्सकहरूसँग चासोसमेत राखेका थिए ।
उपचारमा संलग्न अधिकारीका अनुसार प्रधानमन्त्री ओलीलाई हप्ता दिन जति अस्पतालमै राखिने भएको छ । चिकित्सकका अनुसार एपेन्डिसाइटिसको अप्रेसन गरिएका बिरामीलाई सामान्यतया ८–१० अस्पतालमै राखिने गरिन्छ ।
करिब एक दशक अघि मिर्गौला प्रत्यारोपण गरिएका प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको अप्रेसन गर्नुपर्दा सङ्क्रमण नहोस् भन्नेमा चिकित्सकहरू सतर्क रहेको र स्वास्थ्यमा सोचेभन्दा धेरै राम्रो सुधार देखिएको चिकित्सकको भनाई छ ।