काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको आज बस्ने बैठकले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवारहरूको छनोटका लागि प्रक्रिया सुरु गर्ने भएको छ ।
नेपाली कांग्रेसका सहायक महामन्त्री डा. प्रकाशशरण महतले बैठकले तिहारअगाडि नै उम्मेदवारको टुङ्गो लगाइसक्ने बताएका छन् ।
उनले केही जिल्लाबाट एकल उम्मेदवारको नाम आए पनि कतिपय जिल्लाबाट धेरै उम्मेदवारको नाम आएको जनाएका छन् । प्रतिनिधि सभा सदस्यका लागि कास्की क्षेत्र नं. २ का लागि १२ जनाभन्दा बढी उम्मेदवारको नाम केन्द्रमा आएको छ ।
कांग्रेसका मुख्य सचिव पौडेलका अनुसार धरान उपमहानगरपालिकाका लागि तिलक राईको एक मात्र नाम सिफारिस भएको छ । यस्तै पाँचथरको फाल्गुनन्द गाउँपालिकाको अध्यक्ष पदमा पनि एकल उम्मेदवारको नाम सिफारिस भएको छ ।
स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा सदस्य गरी कुल ५२ स्थानका लागि उपनिर्वाचन हुँदै छ ।







