काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले आज नेकपा नेताहरूसँग सामुहिक भेट गर्ने छन् ।
शनिबार नेपाली समकक्षी विद्यादेवी भण्डारी र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवासँग भेटवार्ता गरिसकेका सीले आइतबार नेकपा नेताहरूसँग भेट गर्ने भएका छन् ।
नेकपाका सचिवालय सदस्यहरूले अध्यक्ष प्रचण्डको नेतृत्वमा बिहान १०ः३० बजे संयुक्त रूपमा सीसँग भेटवार्ता गर्ने कार्यतालिका तय भएको छ ।
संयुक्त भेटलगत्तै प्रचण्डले वान-अन-वान भेटवार्ता गर्ने छन् ।
कार्यतालिका अनुसार नेकपा नेतासँगको भेटपछि सीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गर्नेछन् । सी र ओलीको भेटवार्तापछि द्विपक्षीय वार्ता हुनेछ । द्विपक्षीय वार्तामा विभिन्न सम्झौताहरूमा हस्ताक्षर हुनेछ । यो क्रम करिब १ घण्टासम्म चल्ने बताइएको छ ।
द्विपक्षीय वार्तापछि सी होटल फर्कने र दिउँसो १ बजे विमानस्थलबाट स्वदेश प्रस्थान गर्ने कार्यतालिका रहेको छ ।