धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कैलालीको गोदावरी धामलाई धार्मिक पर्यटनको प्रमुख गन्तव्य बनाउन योजना ल्याइने बताएका छन्।
उक्त धाममा आजदेखि शुरु भएको बाह्रराशि दर्शन मकर मेलाको उद्घाटन गर्दै उनले प्रदेशको स्थायी राजधानी स्थापना हुने गोदावरीको विकासमा सरकारले ध्यान दिएको स्पष्ट पारे । सो धाममा प्रत्येक १२ वर्षमा महाकुम्भ, प्रत्येक छ वर्षमा अर्धकुम्भ मेला र प्रत्येक वर्ष बाह्रराशि दर्शन मकर मेला गरिने गोदावरी धाम विकास समितिको योजनासँगै आजदेखि सो मेला शुरु भएको हो ।
प्रत्येक वर्ष मकर सङ्क्रान्तिको अवसरमा खगोल शास्त्रीय विधिमा आधारित भई कुम्भ मेलाको प्रतीकका रुपमा उक्त मेलाको आयोजना गरिएको धामका अध्यक्ष एवं साहित्यकार पदमराज जोशीले बताए । मेलाका क्रममा त्यहाँ रहेको कुम्भबाटिकामा बाह्रराशि र नवग्रह, २७ नक्षत्र र बाह्र आदित्यको स्थापना गरी दर्शन एवं पूजाको व्यवस्थासमेत गरिएको छ । ४ वर्षअघि यो क्षेत्रमा एकमहीने ‘शहस्त्र कुम्भ दर्शन मेला‘ आयोजना गरिएको थियो ।
उक्त धाम क्षेत्रमा नदी, मठमन्दिर, धर्मशाला, बौद्ध गुम्बा रहेका छन् । मकर सङ्क्रान्तिका दिन सो क्षेत्रमा सदियौँदेखि मेला लाग्दै आएको छ । प्रदेशका सात पहाडी जिल्लाको मुख्य प्रवेश द्वार, धनगढी–डडेलधुरा राजमार्गको छेउमै रहेको सो क्षेत्रलाई सप्त गोदावरीमध्येको प्राचीन गोदावरी रुपमा लिने गरिन्छ ।