काठमाडौँ । नेपाली काँग्रेसबाट चुनाव जितेका स्याङ्जाको पुतली बजार नगरपालिका-४ का वडाध्यक्ष शिवबहादुर थापालाई मानव बेचबिखनसम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा पठाउन काठमाडौँ जिल्ला अदालतले आदेश दिएको छ।
तेञ्जी शेर्पाको जाहेरीका आधारमा नेपाल सरकार वादी रहेको उक्त मुद्दामा न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले जेठ २५ गते थापालाई थुनामै राखेर मुद्दाको थप सुनुवाइ अघि बढाउने निर्णय गरेको हो।
अनुसन्धानका क्रममा थापाले पीडितलाई अमेरिका पठाइदिने आश्वासन दिएर आर्थिक लेनदेन गरेको आरोप छ। वैदेशिक यात्राका क्रममा विभिन्न मुलुक हुँदै लगिएपछि पीडितलाई विदेशमै अलपत्र छाडेर उनी नेपाल फर्किएको दाबी गरिएको छ। त्यसपछि पीडित शेर्पाले मानव बेचबिखन अनुसन्धान ब्युरोमा उजुरी दिएकी थिइन्।
उक्त जाहेरीका आधारमा प्रहरीले थापालाई वैशाखको अन्तिम साता काठमाडौँबाट पक्राउ गरेको थियो।







