काठमाडौँ। नेपाली काँग्रेसले सञ्चालन गरेको क्रियाशील सदस्यता अद्यावधिक अभियानअन्तर्गत हालसम्म ठुलो संख्यामा सदस्यहरूले आफ्नो विवरण अद्यावधिक गरेका छन् भने केही सदस्यहरू अझै प्रक्रिया बाहिर रहेका छन्।
पार्टीका अनुसार योग्य मानिएका कुल ७ लाख ८२ हजार २०९ क्रियाशील सदस्यमध्ये ४ लाख २३ हजार २३७ जनाले एनसीआइडी प्राप्त गर्दै आफ्नो सदस्यता अद्यावधिक गरिसकेका छन्।
महामन्त्री प्रदीप पौडेलका अनुसार थप १ लाख १ हजार ३०९ सदस्यले आवश्यक फारम बुझाएर अद्यावधिक प्रक्रियालाई अघि बढाइरहेका छन्। यद्यपि, अझै २ लाख ५७ हजार ६६३ सदस्यले आफ्नो विवरण अद्यावधिक गर्न बाँकी रहेको उनले जानकारी दिएका छन्।
उनले क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयसीमा अब दुई दिन मात्र बाँकी रहेको उल्लेख गर्दै प्राविधिक वा अन्य कारणले छुटेका सदस्यलाई निर्धारित समयभित्र प्रक्रिया पूरा गर्न आग्रह गरेका छन्। साथै, पार्टी नेतृत्व, पदाधिकारी तथा स्थानीय तहका अगुवा कार्यकर्तालाई आफ्नै विवरण अद्यावधिक गर्नुका साथै अन्य सदस्यलाई पनि सहयोग गर्न अनुरोध गरिएको छ।
काँग्रेसले यस अभियानलाई प्रविधिमा आधारित संगठन निर्माण र सूचना प्रणालीलाई व्यवस्थित गर्ने दिशामा महत्वपूर्ण कदमका रूपमा लिएको जनाएको छ।
यसैबीच, पूर्वसभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला निकट केही नेताहरूले अभियानप्रति असहमति जनाएका कारण करिब दुई लाख सदस्यले अझै प्रक्रिया पूरा नगरेको चर्चा छ। तर संस्थापन पक्षले भने प्रमुख नेताबाहेक अन्य अधिकांश नेताहरूले भने सदस्यता अद्यावधिक गरिसकेको दाबी गरेको छ।







