पोखरा । कास्की प्रहरीले बौद्धिक अपाङ्गता भएका व्यक्तिलाई नरोकी हिँडाएको सार्वजनिक यातायात (बस) माथि कारबाही गरेको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीले सोमबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार पोखरा महानगरपालिका–३२ लेखनाथ क्षेत्रमा एक बौद्धिक अपाङ्गता भएका व्यक्तिले सार्वजनिक सवारी साधन रोक्न खोज्दा बस नरोकी अघि बढेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। उक्त भिडियोमा सम्बन्धित व्यक्तिले नै सरोकारवाला निकायको ध्यानाकर्षण गराउन आग्रह गरेको देखिएपछि प्रहरीले घटनालाई गम्भीर रूपमा लिँदै अनुसन्धान थालेको जनाएको छ।
प्रहरीका अनुसार भिडियो सार्वजनिक भएपछि सम्बन्धित सवारी साधनको खोजतलास गरी आवश्यक कारबाहीका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीमा पठाइएको थियो। त्यसक्रममा ग २ ख २२५५ नम्बरको सार्वजनिक बसलाई नियन्त्रणमा लिई आवश्यक ट्राफिक जरिवाना गरिएको जनाइएको छ।
कार्यालयले उक्त बसका चालक तथा सम्बन्धित पक्षलाई आगामी दिनमा फरक क्षमता भएका व्यक्ति, बौद्धिक अपाङ्गता भएका नागरिक तथा वृद्धवृद्धालाई सार्वजनिक यातायातमा विशेष प्राथमिकता दिनुपर्ने विषयमा सम्झाइबुझाइसमेत गरिएको जनाएको छ।
प्रहरीले सार्वजनिक यातायात सेवा प्रवाहका क्रममा सबै नागरिकप्रति संवेदनशील र जिम्मेवार व्यवहार अपनाउन यातायात व्यवसायी तथा चालकहरूलाई आग्रह गरेको छ।







