काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले सरकारलाई गरेका मानव अधिकारसम्बन्धी सिफारिसहरूको कार्यान्वयन अवस्था सन्तोषजनक नभएको जनाएको छ।
आयोगको २६औँ वार्षिकोत्सवका अवसरमा बुधबार ललितपुरमा आयोजित कार्यक्रममा आयोगका अध्यक्ष तपबहादुर मगरले सरकारलाई दिइएका सुझाव तथा सिफारिसहरूको कार्यान्वयन स्तर अपेक्षाअनुसार प्रगति नभएको बताएका हुन्।
उनका अनुसार आयोग स्थापना भएदेखि हालसम्म सरकारद्वारा मात्र करिब १३.२९ प्रतिशत सिफारिस पूर्ण रूपमा कार्यान्वयन भएको तथ्यांक रहेको छ। बाँकी सिफारिसहरूको कार्यान्वयन प्रक्रिया कमजोर रहेको आयोगको मूल्यांकन छ।
अध्यक्ष मगरले आगामी दिनमा सरकारबाट सिफारिस कार्यान्वयनमा सकारात्मक पहल भए मात्र कानुनी शासन सुदृढ हुने र मानवअधिकार संस्कृतिको विकास सम्भव हुने धारणा राखे।
उनले लोकतान्त्रिक व्यवस्थामा प्रक्रिया र परिणाम दुवैको महत्व रहने उल्लेख गर्दै राज्यका सबै निकायले अझ बढी लोकतान्त्रिक आचरण प्रदर्शन गर्नुपर्नेमा जोड दिए।
त्यसैगरी, नागरिक तथा राजनीतिक अधिकारको तुलनामा आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको कार्यान्वयन अझै सन्तोषजनक नभएको उल्लेख गर्दै राज्यले यस्ता क्षेत्रमा थप प्रभावकारी कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको उनले बताए।







