काठमाडौँ । मधेश प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठन तथा विस्तार गरिएको छ। मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसअनुसार प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले पाँच जना नयाँ मन्त्रीहरूलाई नियुक्त गरेका हुन्।
नवगठित मन्त्रिपरिषद् अनुसार अर्थ मन्त्रालयको जिम्मेवारी नेकपाका युवराज भट्टराईलाई दिइएको छ भने भौतिक पूर्वाधार विकास मन्त्रालयमा नेकपा (एमाले) का मोहम्मद समीर नियुक्त भएका छन्।
त्यसैगरी श्रम तथा यातायात मन्त्रालयको नेतृत्व शारदादेवी थापाले पाएकी छन्। युवा तथा समाज कल्याण मन्त्रालयमा लखनदास र शिक्षा तथा संस्कृति मन्त्रालयमा मनोज सिंहलाई जिम्मेवारी तोकिएको छ।
यसैबीच नेपाली काँग्रेसको तर्फबाट स्वास्थ्य मन्त्रालयमा नगेन्द्र शाह नियुक्त भएका छन्। यसअघि उक्त मन्त्रालयको जिम्मेवारी जंगीलाल रायले सम्हाल्दै आएका थिए, जसलाई पदबाट हटाइएको जनाइएको छ।
नवनियुक्त सबै मन्त्रीहरूले आजै पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।








