काठमाडौँ । नेपाली काँग्रेसले आदिवासी तथा जनजाति समुदायको नेतृत्व र राजनीतिक प्रतिनिधित्वलाई प्रभावकारी रूपमा सुनिश्चित गर्न आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएको छ।
पार्टीकी उपसभापति पुष्पा भुसालले पार्टी मुख्यालय सानेपा पुगेको नेपाल आदिवासी जनजाति महासंघको प्रतिनिधिमण्डलसँगको छलफलका क्रममा उक्त प्रतिबद्धता व्यक्त गरेकी हुन्। महासंघका पदाधिकारीहरूले आफ्नो माग र अडानसम्बन्धी पत्र काँग्रेस नेतृत्वलाई बुझाएका थिए।
छलफलका क्रममा उपसभापति भुसालले नेपालको संविधानले समावेशिता र समानुपातिक प्रतिनिधित्वलाई राज्य संरचनाको आधारभूत सिद्धान्तका रूपमा स्थापित गरेको उल्लेख गर्दै आदिवासी जनजातिको सहभागिता राज्य संरचना र पार्टी दुवै तहमा अपरिहार्य रहेको धारणा व्यक्त गरिन्।
उनले काँग्रेसले संसद् तथा सरकार दुवै स्तरमा उनीहरूको प्रतिनिधित्व सुनिश्चित गर्न सक्रिय पहल गर्ने बताउँदै संविधान संशोधनलगायत नीतिगत विषयमा पनि स्पष्ट दृष्टिकोण बनाएर अघि बढ्ने संकेत दिइन्।
भुसालका अनुसार समावेशी राज्य संरचनाबिना राष्ट्रिय एकता र सामाजिक सन्तुलन पूर्ण हुन नसक्ने भएकाले आदिवासी जनजातिका सरोकारलाई पार्टीले प्राथमिकतामा राखेको छ।
त्यस अवसरमा महासंघका महासचिव विमल सारुमगरले आदिवासी जनजाति समुदायका मागहरूलाई राजनीतिक दल र सरकार दुवै तहमा गम्भीरतापूर्वक सम्बोधन गर्नुपर्ने आवश्यकता औँल्याएका थिए।







