काठमाडौँ । नेपाल गुणस्तर तथा नापतौल विभागले नेपाल गुणस्तर (एनएस) प्रमाण चिह्नका लागि आवेदन दिएर पनि लामो समयसम्म प्रक्रिया अगाडि नबढाएका उद्योगहरूलाई सम्पर्कमा आउन आग्रह गरेको छ ।
विभागले सार्वजनिक सूचना जारी गर्दै २०८२ साउन १ गतेअघि आवेदन दिएका तर हालसम्म इजाजत पत्र वा प्रमाणपत्र प्राप्तिको प्रक्रिया पूरा नगरेका उद्योगहरूलाई १५ दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको हो ।
सूचनाअनुसार सम्बन्धित उद्योगहरूले आधिकारिक प्रतिनिधिमार्फत आवश्यक विवरण तथा आधिकारिक पत्रसहित विभागमा सम्पर्क गर्नुपर्नेछ ।
विभागले तोकिएको अवधिभित्र सम्पर्कमा नआए पुराना आवेदन स्वतः निष्क्रिय मानिने स्पष्ट पारेको छ । यस्तै, पछि पुनः गुणस्तर चिह्न प्राप्त गर्न चाहने उद्योगहरूले नयाँ आवेदकसरह सुरुदेखि सम्पूर्ण प्रक्रिया पूरा गर्नुपर्ने व्यवस्था रहने विभागले जनाएको छ ।







