काठमाडौँ । राजस्व चुहावटसम्बन्धी मुद्दामा अदालतबाट कैद तथा करोडौँ रुपैयाँ जरिवाना सजाय तोकिएका एक फरार प्रतिवादी पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका-३१ निवासी प्रविन्द साह गोढ लाई बुधबार नियन्त्रणमा लिइएको जनाएको छ।
प्रहरीका अनुसार पर्सा जिल्ला अदालतले राजस्व चुहावट मुद्दामा गोढलाई ६ महिनाको कैद सजायसँगै रु. ३ करोड १२ लाख ६० हजार ८० जरिवाना गर्ने फैसला गरेको थियो।
अदालतको निर्णयपछि उनी फरार रही विभिन्न स्थानमा लुक्दै आएको प्रहरीको भनाइ छ। पक्राउ परेका उनलाई आवश्यक कानुनी प्रक्रियाका लागि पर्सा जिल्ला अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी डीएसपी हरिबहादुर बस्नेत ले जानकारी दिएका छन्।







