काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विगत केही वर्षमा पूँजीबजारसँग सम्बन्धित संस्थाहरू सीमित समूहको प्रभावमा परेको टिप्पणी गर्दै त्यसको सुधारका लागि सरकारले नीतिगत पहल अघि बढाइरहेको बताएका छन्।
प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा पूँजीबजारका विकृति र संरचनात्मक समस्याबारे धारणा राख्दै उनले राजनीतिक तथा आर्थिक पहुँचका आधारमा बजारलाई प्रभावित पार्ने प्रवृत्ति विकसित भएको उल्लेख गरे। उनका अनुसार आम लगानीकर्ताको रकम दुरुपयोग, बजार चलखेल तथा भित्री सूचनाको प्रयोगमार्फत अनुचित लाभ लिने गतिविधिले पूँजीबजारप्रति विश्वास कमजोर बनाएको छ।
अर्थमन्त्री डा. वाग्लेले सरकार सुशासन र पारदर्शितामा आधारित विश्वस्तरीय पूँजीबजार विकास गर्ने लक्ष्यसहित अघि बढिरहेको दाबी गरे। उनले स्टक एक्सचेन्ज पुनर्संरचनाका लागि गठन गरिएको समितिबाट प्राप्त सुझाव कार्यान्वयनको चरणमा लैजाने तयारी रहेको जानकारी दिए।
उनका अनुसार सरकारको नीति तथा कार्यक्रममा समेत स्टक एक्सचेन्ज र पूँजीबजारसँग सम्बन्धित उदार तथा सुधारमुखी नीतिहरू समावेश गरिएका छन्। आगामी बजेटमार्फत ती कार्यक्रमलाई थप स्पष्ट र प्रभावकारी बनाइने उनले बताए।
पूँजीबजारलाई व्यावसायिक, प्रतिस्पर्धी र अन्तर्राष्ट्रिय मापदण्डअनुरूप विकास गर्ने दिशामा सरकार अघि बढ्ने उनको भनाइ थियो।
बैठकमा उनले विगतमा केही सीमित व्यक्तिहरूले आर्थिक संस्थामाथि प्रभाव जमाउँदै राजनीतिक निर्णय प्रक्रियासमेत प्रभावित पार्ने अवस्था बनेको उल्लेख गरे। बजार चलखेल, इन्साइडर ट्रेडिङ र लगानीकर्ताको रकम दुरुपयोगजस्ता गतिविधिले समग्र वित्तीय प्रणालीमा नकारात्मक असर पारेको उनको धारणा थियो।
यसक्रममा उनले ‘जेन जेड आन्दोलन’ले पूँजीबजारमा देखिएका समस्याप्रति सार्वजनिक बहस सिर्जना गर्न भूमिका खेलेको उल्लेख गर्दै त्यस्तो हस्तक्षेप नभएको भए अवस्था थप जटिल बन्न सक्ने टिप्पणी गरेका छन्।







