काठमाडौँ । सरकारले राजधानी उपत्यकामा वायु प्रदूषण नियन्त्रण र गुणस्तर सुधारका लागि विस्तृत कार्यक्रम अघि बढाउने घोषणा गरेको छ।
संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८३-८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै स्वच्छ प्रविधिको प्रवर्द्धन तथा प्रदूषण नियन्त्रणमा केन्द्रित योजनाहरू कार्यान्वयन गरिने जानकारी दिएका हुन्।
नीति तथा कार्यक्रममा काठमाडौँ उपत्यकाको वायु गुणस्तर सुधार योजनालाई अद्यावधिक गर्दै राष्ट्रिय वायु गुणस्तर व्यवस्थापन कार्ययोजना लागू गरिने उल्लेख गरिएको छ। साथै परम्परागत इँटा उद्योगलाई क्रमशः वातावरणमैत्री तथा स्वच्छ प्रविधिमा रूपान्तरण गर्ने योजना पनि समावेश गरिएको छ।
सरकारले वायु प्रदूषण न्यूनीकरण, जलवायु परिवर्तन अनुकूलन र दिगो शहरी वातावरण व्यवस्थापनका लागि बहुपक्षीय समन्वय प्रणालीलाई सुदृढ बनाउने नीति लिएको छ। यसका साथै सीमा पार हुने प्रदूषण नियन्त्रणका लागि द्विपक्षीय तथा क्षेत्रीय सहकार्यलाई थप प्रभावकारी बनाइने पनि नीति तथा कार्यक्रममा उल्लेख छ।







