काठमाडौँ। नेपाली काँग्रेसले कर्णाली प्रदेश केन्द्रित दुई दिने प्रदेशस्तरीय भेला सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गर्ने भएको छ। पार्टीको विशेष महाधिवेशनपछि वैशाख २८ र २९ गते उक्त भेला आयोजना गर्न लागिएको हो।
काँग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा हुने भेलामा पार्टीका शीर्ष नेताहरूको सहभागिता रहने जनाइएको छ। कार्यक्रममा सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा तथा महामन्त्री प्रदीप पौडेल लगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ।
भेला आगामी राजनीतिक कार्यदिशा, निर्वाचनपछिको समीक्षा, संगठन सुदृढीकरण तथा सुशासनसम्बन्धी विषयमा केन्द्रित रहने आयोजकले जनाएको छ।
कर्णाली प्रदेशबाट केन्द्रीय कार्यसमितिमा प्रतिनिधित्व गर्ने सदस्यहरू, प्रदेश कार्यसमितिका पदाधिकारी, जिल्लाका सभापतिहरू, संघीय संसद् सदस्य, प्रदेश सरकारका मन्त्री, प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख र उपप्रमुखहरूको सहभागिता रहने बताइएको छ।
प्रतिष्ठानका सदस्य प्रकाश लामिछानेका अनुसार भेलामा प्रतिनिधिसभा निर्वाचनको वस्तुगत समीक्षा, संगठनात्मक कमजोरी पहिचान तथा पार्टीभित्र अनुशासन र आन्तरिक एकता मजबुत बनाउने विषयमा छलफल हुनेछ।
त्यसैगरी प्रदेश तथा स्थानीय तहका सरकारले अवलम्बन गर्नुपर्ने नीति, कार्यक्रम र जनमुखी विकास मोडेलका विषयमा पनि विस्तृत बहस गरिनेछ। बदलिँदो जनमत र मतदाताको मनोविज्ञानलाई ध्यानमा राख्दै पार्टीको भावी नीतिगत सुधार, संगठन शुद्धीकरण तथा नेतृत्व र जनप्रतिनिधिबीच साझा धारणा विकासमा विशेष जोड दिइने जनाइएको छ।
भेलामा सुशासन, पूर्वाधार विकास, सामाजिक रूपान्तरण, विपद् व्यवस्थापन तथा बजेट कार्यान्वयनका प्राथमिकतामाथि समेत कार्ययोजना तयार गरिने बताइएको छ। साथै नागरिकमैत्री बजेट, समावेशी विकास र पार्टी–जनप्रतिनिधिबीच समन्वय प्रभावकारी बनाउने विषयमा पनि छलफल हुने आयोजकको भनाइ छ।
दुई दिने भेलापछि ‘सुर्खेत घोषणापत्र’ सार्वजनिक गर्दै कर्णाली प्रदेशको विकास, समृद्धि र सुशासनसम्बन्धी पार्टीको औपचारिक धारणा प्रस्तुत गर्ने तयारी गरिएको काँग्रेसले जनाएको छ।







