काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुकुम (पूर्वी भाग) को पुथा उत्तरगंगा गाउँपालिकामा सञ्चालित कागती पकेट विकास कार्यक्रमसँग सम्बन्धित अनियमितता प्रकरणमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बशिष्ट नारायण यादवलाई केन्द्रमा राख्दै आठ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।
आयोगका अनुसार आर्थिक वर्ष २०७७-७८ मा संघीय सशर्त अनुदानअन्तर्गत सञ्चालित उक्त कार्यक्रम कार्यान्वयनका क्रममा सम्झौता अनुसार काम नगरी फिल्डमा नभएको कार्यसमेत नापी किताबमा देखाइएको र वास्तविक कार्यभन्दा बढी मूल्यांकन गरी भुक्तानी लिएको पाइएको छ । यसरी सरकारी स्रोतको हिनामिना तथा दुरुपयोग गरी कुल ११ लाख ६९ हजार ७६० रुपैयाँ बराबरको क्षति पुर्याइएको निष्कर्ष निकालिएको छ ।
उक्त प्रकरणमा गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत यादव र वडा नं. १२ का तत्कालीन अध्यक्ष गंगा बहादुर पुनलाई समान बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कैद, जरिवाना तथा बिगो असुलउपरको माग गरिएको छ । सोही प्रकरणमा इन्जिनियर खुविराज शाही र सब–इन्जिनियर कमल प्रसाद केसीमाथि पनि समान आरोप लगाउँदै झुटा प्राविधिक कागजात तयार गरेको अभियोगसमेत थप गरिएको छ ।
त्यस्तै योजना शाखा प्रमुख/कम्प्युटर अपरेटर चित्र बहादुर केसी, कृषि प्राविधिक ओम प्रकाश ओली र सह–लेखापाल नवराज खड्काविरुद्ध पनि गैरकानुनी रूपमा भुक्तानी प्रक्रिया मिलाएको आरोपसहित मुद्दा दायर गरिएको छ ।
यसैगरी योजनामा संलग्न पुथा हिमालयन अर्गानिक कृषि प्रालि तथा त्यसका अध्यक्ष सुजन पुनलाई मुख्य कसुरमा मतियारको रूपमा समावेश गरिएको छ । उनीमाथि पनि मुख्य अभियुक्तसरह सजाय माग गरिएको आयोगले जनाएको छ ।
आयोगका प्रवक्ता सुरेश न्यौपानेद्वारा जारी विज्ञप्ति अनुसार सम्बन्धित सबै प्रतिवादीविरुद्ध भ्रष्टाचार निवारण ऐनका विभिन्न दफा अनुसार कारबाहीको मागसहित विशेष अदालत, काठमाडौँमा आरोपपत्र दर्ता गरिएको हो ।









