काठमाडौँ । नेपाली काँग्रेसले राष्ट्रपतिबाट आह्वान गरिएको संसद् अधिवेशन पहिलो बैठक नै नबस्दै पुनः स्थगित गरिएको विषयमा असन्तुष्टि जनाएको छ। पार्टीले उक्त कदमलाई संसदीय अभ्यास र संवैधानिक मर्यादा विपरीत भएको निष्कर्ष निकालेको छ।
शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संविधानअनुसार अधिवेशन आह्वान गर्नु नियमित वैधानिक प्रक्रिया भए पनि बैठक सञ्चालन नगरी स्थगन गर्नु संसदीय परम्परा तथा लोकतान्त्रिक नैतिकतासँग मेल नखाने ठहर गरेको हो।
बैठकपछि प्रवक्ता देवराज चालिसेद्वारा जारी विज्ञप्तिमा संसद्लाई स्वतन्त्र बहस, निर्णय र जनप्रतिनिधित्वको संस्थाका रूपमा होइन, कार्यपालिकाको सुविधा अनुसार प्रयोग हुने संरचनाजस्तो बनाउने जोखिम सिर्जना भएको उल्लेख गरिएको छ।
काँग्रेसले संसद् स्थगनका लागि ‘विशेष कारण’ जस्ता अस्पष्ट आधार प्रस्तुत गरिएको र नागरिकलाई स्पष्ट जानकारी नदिइएको भन्दै सरकारको पारदर्शिता तथा नियतबारे प्रश्न उठाएको छ।
पार्टीले संसद्को नियमित बैठक अविलम्ब सञ्चालन गर्न सरकारसँग मागसमेत गरेको छ।







