काठमाडौँ । प्रतिनिधि सभा नियमावली निर्माणका लागि गठित मस्यौदा समितिले तयार पारेको प्रतिवेदन सभामुख डीपी अर्याल समक्ष बुझाइएको छ।
समितिका सभापति गणेश पराजुलीले उक्त मस्यौदा आज सभामुखलाई हस्तान्तरण गरेका हुन्।
यसअघि चैत २३ गते बसेको प्रतिनिधि सभा बैठकले नियमावली तयार गर्न समिति गठन गरेको थियो।
प्रस्तावित मस्यौदामा संसद् बैठकको कार्यप्रणालीलाई व्यवस्थित बनाउन विभिन्न प्रावधान समेटिएका छन्। जसअनुसार बैठक कक्षभित्र फोटो खिच्न तथा अडियो–भिडियो रेकर्ड गर्न निषेध गर्ने व्यवस्था प्रस्ताव गरिएको छ।
त्यस्तै, मन्त्रीहरूलाई बैठकमा अनिवार्य उपस्थित हुने प्रावधान राखिएको छ भने आकस्मिक, शून्य तथा विशेष समयमा उठाइएका विषयमा सात दिनभित्र अनिवार्य जवाफ दिनुपर्ने व्यवस्था पनि मस्यौदामा समावेश गरिएको छ।







