काठमाडौँ । इटालीकी प्रधानमन्त्री जोर्जिया मेलोनीले इजरायलसँगको दीर्घकालीन रक्षा सहकार्य सम्झौताको नवीकरण प्रक्रिया तत्कालका लागि अघि नबढाउने निर्णय सार्वजनिक गरेकी छन्।
भेरोनामा आयोजित कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले वर्तमान क्षेत्रीय अवस्था र जारी द्वन्द्वलाई मध्यनजर गर्दै उक्त सहकार्यलाई निरन्तरता नदिने निर्णय गरिएको जानकारी दिइन्। उक्त समझदारी विगतदेखि नै प्रचलनमा रहँदै आएको र हरेक पाँच वर्षमा स्वतः नवीकरण हुँदै आएको थियो।
इटाली-इजरायलबीचको सहकार्यमा सैन्य सामग्रीको आदान-प्रदान तथा अनुसन्धानमा सहकार्यजस्ता पक्ष समावेश रहेका थिए। तर पछिल्लो समय बढ्दो क्षेत्रीय तनावका कारण यसलाई अस्थायी रूपमा स्थगन गर्ने निष्कर्षमा इटाली पुगेको हो।
यसै सन्दर्भमा प्रधानमन्त्री मेलोनीले अन्तर्राष्ट्रिय जलमार्गका रूपमा रहेको होर्मुज जलडमरूमध्य लाई पुनः सञ्चालनमा ल्याउन कूटनीतिक प्रयासलाई तीव्रता दिनुपर्नेमा समेत जोड दिएकी छन्।
उता, इजरायलतर्फबाट भने उक्त निर्णयप्रति सामान्य प्रतिक्रिया आएको छ। इजरायली विदेश मन्त्रालयका प्रवक्ताले इटालीसँग कुनै ठोस सुरक्षा सम्झौता नरहेको दाबी गर्दै यस निर्णयले आफ्ना सुरक्षात्मक हितमा प्रत्यक्ष प्रभाव नपर्ने उल्लेख गरेका छन्। साथै, उक्त सहकार्यलाई पुरानो समझदारीको रूपमा मात्र व्याख्या गरिएको छ।







