काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता अर्जुननरसिंह केसीले पार्टीको संसदीय दलको नेता चयन प्रक्रिया सहमतिमै निष्कर्षमा पुग्ने बताएका छन्।
प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले केही दिनभित्रै नेतृत्व चयन टुंगिने बताएका हुन्।
उनका अनुसार दलको बैठक नजिकिँदै गर्दा नेतृत्वबारे निर्णय प्रक्रिया ढिलाइ नहुने र यसलाई सहज रूपमा टुंग्याउने तयारी भइरहेको छ। उनले विषयलाई जटिल बनाउनु आवश्यक नभएको उल्लेख गर्दै छलफलमार्फत साझा निष्कर्ष निकालिने धारणा व्यक्त गरे।
दलको नेताका रूपमा आफ्नो दाबी स्वाभाविक रहेको स्वीकार गर्दै केसीले प्रतिस्पर्धाभन्दा सहमतिको विकल्प रोजिने बताए। उनले पार्टीभित्र आन्तरिक समझदारी कायम गरेर अघि बढ्ने वातावरण रहेको पनि जनाए।
यसैबीच, पार्टी सभापति गगन थापासँग आफ्नो सम्बन्ध जोडेर आलोचना गरिनु उपयुक्त नभएको उनले स्पष्ट पारेका छन्। दुवै नेताको राजनीतिक यात्रा र पहिचान स्वतन्त्र रहेको उल्लेख गर्दै व्यक्तिगत सम्बन्धका आधारमा टिप्पणी गर्नु आवश्यक नरहेको उनको भनाइ थियो।







