काठमाडौँ । लुम्बिनी प्रदेश सभा सदस्य रेखा शर्मालाई थप अनुसन्धानका लागि हिरासतमा नराखी अनुसन्धान अगाडि बढाउन जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ।
शर्मालाई बालबालिकासम्बन्धी मुद्दामा पक्राउ गरिएको थियो। एक बालिकालाई घरमा राखेर बालश्रम गराएको आरोप उनीमाथि छ ।
जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौँले तयार पारेको फाइल उच्च सरकारी वकिलको कार्यालय हुँदै महान्यायाधिवक्ताको कार्यालयमा पुगेको थियो। यसमा मुद्दा चलाउन नपर्ने राय समावेश गरिएको थियो।
जिल्ला अदालत काठमाडौँका न्यायाधीश जगतबहादुर पौडेलको इजलासले यस अघि नै मुद्दा चलाउन नपर्ने निर्णय भइसकेकाले शर्मालाई हिरासतमुक्त गरेर अनुसन्धान प्रक्रिया अघि बढाउन आदेश जारी गरेको बताइएको छ।








