काठमाडौँ। सरकारले राजस्व चुहावट नियन्त्रणका लागि अभियानको रूपमा काम अघि बढाउने भएको छ। बिहीबार अर्थ मन्त्रालयमा बसेको केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकले यस विषयमा निर्णय गरेको हो।
बैठकमा विभिन्न विभागहरूले राजस्व चुहावट रोक्न हाल सञ्चालन गरिरहेका गतिविधिका बारेमा सम्बन्धित निकायका प्रमुखहरूले जानकारी प्रस्तुत गरेका थिए।
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र गृहमन्त्री सुधन गुरुङले राजस्व चुहावट रोक्न शून्य सहनशीलताको नीति अपनाउन निर्देशन दिएका छन्।
त्यस्तै, मन्त्रीद्वयले सीमामा सूक्ष्म निगरानी राख्न र बजार अनुगमनमा केन्द्रित हुन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।
बैठकले राजस्व लक्ष्य हासिल गर्न टास्क फोर्स गठन गरी कार्ययोजना अनुसार काम गर्न र अर्को बैठकमा परिणामको समीक्षा गर्न निर्णय गरेको छ। बैठकले गरिएका निर्णयहरू कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाउने व्यवस्था पनि गरेको छ।
बैठकमा अर्थमन्त्री, गृहमन्त्री, विभागीय प्रमुख तथा तीनवटै सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो।







