काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरणका सहायक लेखापालविरुद्धको मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।
आयोगले नेपाल विद्युत् प्राधिकरण, बुटवल वितरण केन्द्र रुपन्देहीमा कार्यरत सहायक लेखापाल पदमा कार्यरत सुधिर कुमार चतुर्वेदीविरुद्धको मुद्दा सर्वोच्चमा पुनरावेदन गरेको हो । चतुर्वेदीसहित अन्य प्रतिवादीहरू रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।
आयोगका अनुसार चतुर्वेदीले मिति २०६६ कात्तिक ९ देखि लागू हुने गरी क्लर्क (लेखा), तह–३ मा स्थायी नियुक्ति लिन नक्कली तथा झुट्टा शैक्षिक प्रमाणपत्र पेश गरेका थिए। सो आधारमा उनले पद, लाभ र सुविधा प्राप्त गरेको पुष्टि भएपछि भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत कसुरमा मुद्दा दायर गरिएको थियो।
उक्त मुद्दामा विशेष अदालतले २०८२ माघ ११ मा सफाइ दिएको थियो। सोही फैसलाविरुद्ध आयोगले असहमति जनाउँदै सर्वोच्च अदालतमा पुनरावेदन दायर गरेको जनाएको छ।







