काठमाडौँ । कैलालीको गेटामा अवस्थित शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको सञ्चालनका विषयमा बुधबार सुदूरपश्चिम प्रदेश सरकार र विश्वविद्यालयका उच्च पदाधिकारीबीच बैठक भएको छ।
बैठकमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वविद्यालय सञ्चालन भए प्रदेशका नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा सहज रूपमा प्राप्त गर्ने भएकाले छिटो सञ्चालन आवश्यक रहेको बताए। उनले विश्वविद्यालयका शैक्षिक गतिविधि र प्रशासनिक कार्यमा सहयोग गर्न प्रदेश सरकार तयार रहेको पनि जनाए।
बैठकमा विश्वविद्यालयको पूर्वाधार विस्तार, मानव संसाधन व्यवस्थापन र शैक्षिक कार्यक्रमको विस्तारबारे विश्लेषण गरिएको थियो।
उक्त छलफलमा विश्वविद्यालयका उपकुलपति सुनिलकुमार जोशी, रजिस्ट्रार खेमराज जोशी, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रमुख सचिव वैकुण्ठप्रसाद अर्यालसहित अन्य वरिष्ठ अधिकारीहरू सहभागी थिए।







