काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले देशबाट लोडसेडिङ आफूले हटाएको भन्दै राजनीतिक क्षेत्रको लोडसेडिङ हटाउन आफू आएको बताएका छन् ।
काठमाडौंमा आयोजित पार्टीको भेलालाई सम्बोधन गर्दै उनले आगामी सरकारबाट देशलाई आर्थिक समृद्धिको बाटोमा लैजाने लक्ष्यका साथ आफू अघि बढेको बताए।
प्रधानमन्त्री र जेनजी प्रतिनिधिको आग्रहलाई स्वीकारेर सरकारमा गएको उनले बताए। आफ्नो इच्छाले सुशीला कार्की नेतृत्वको सरकारमा नगएको बताएका छन्।
‘संकटको बेलामा जिम्मेवारी लिएर मैले तीन महिनामा डेलिभरी दिए, चुनावको वातावरण बनाएर बाहिर आएका छौँ। मैले चुनाव गर्न बनेको सरकार आउँदिन पनि भनेको थिएँ,’ उनले भने, ‘तर प्रधानमन्त्रीले चुनावको बेलामा जानुस् भन्नुभएको थियो। अहिले धेरैले भगौडा मन्त्री भनेर लेख्छन्, छोटो समयमा देशलाई डेलिभरी दिएर सरकारबाट बाहिर आएको हुँ।’







