काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले बदलिएर आएको काँग्रेस पार्टी आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनबाट सबैभन्दा ठुलो र पहिलो दलको रूपमा आउने बताएका छन् ।
उनले देशका विभिन्न स्थानमा पुग्दा र प्राप्त गरिएको विभिन्न ठाउँको सूचना बमोजिम काँग्रेस पहिलो पार्टी बन्ने तथ्यांकले देखाएको बताए ।
काँग्रेस रुपन्देहीले आज रुपन्देहीको भैरहवामा आयोजना गरेको प्रतिनिधि सभा सदस्य निर्वाचन-२०८२ अन्तर्गत पार्टी सदस्य भेटघाट कार्यक्रममा उपसभापति शर्माले काँग्रेस फेरी ठुलो दलको रूपमा देशको नेतृत्व गर्ने गरी बहुमतको दिशातर्फ अग्रसर भइरहेको बताएका हुन् ।
देशमा मन जलेको, मान्छेको मन भाँचिएको र विश्वास टुक्रिएको उनको भनाइ छ । ‘यो बेला जेन जेड विद्रोह सबै गलत भयो, भदौ २३ अघि सबै ठिक थियो भन्ने होइन,’उनले भने ।
पुरानाका दिन गए भन्न नमिल्ने उनको भनाइ छ । यो धर्तीमा सबैभन्दा पुरानो कुरा धर्ती नै भएको र नयाँ भनेको जन्ममितिले नहुने शर्माले बताए ।
‘नयाँ भनेको सोच, दृष्टिकोण र नेतृत्वको बदलावले हुन्छ । साँच्दै बदलिएको हो र नयाँ भएर आएको काँग्रेस नै हो’ शर्माले भने । जेन जेड विद्रोहले देशमा परिवर्तन खोजेको उनले बताए । संसार बदल्न छु भने आफूबाट नैसुरुवात गर्नुपर्ने शर्माको भनाइ छ ।







