काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा संलग्न राजनीतिक दल तथा उम्मेदवारहरूलाई निर्धारित समय सीमाभित्र निर्वाचन घोषणापत्र सार्वजनिक गरी सम्बन्धित निकायमा बुझाउन निर्देशन दिएको छ ।
आयोगको आज बसेको बैठकले २०८२ साल फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रतिस्पर्धामा रहेका सबै दल र उम्मेदवारले फागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक गर्नुपर्ने निर्णय गरेको हो ।
आयोगका अनुसार निर्वाचन आचारसंहिता, २०८२ को दफा ३७ तथा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५७ अनुसार राजनीतिक दलहरूले आफ्ना घोषणापत्र निर्वाचन आयोगमा पेस गर्नुपर्नेछ भने उम्मेदवारहरूले सम्बन्धित निर्वाचन कार्यालयमा बुझाउनुपर्ने व्यवस्था छ ।
आयोगले घोषणापत्र प्रस्तुत गर्दा प्रचलित कानुनी व्यवस्था र निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्नुपर्नेमा समेत ध्यानाकर्षण गराएको छ ।








