चितवन । राष्ट्रिय समाचार समिति (रासस)का महाप्रबन्धक सन्दीप राईले नेपाली पत्रकारितालाई मजबुत बनाउने र सूचना पहुँचको दायरालाई व्यापक बनाउन रासस क्रियाशील रहेको बताएका छन् ।
भरतपुर महानगरपालिका–१० मा निर्मित राससको तालिम केन्द्र भवनको निरीक्षणपछि उनले व्यावसायिक पत्रकारिताको प्रवर्द्धनमा रासस लागिपरेको बताए ।
तालिम केन्द्रलाई देशभरिका सरकारी, गैरसरकारी र निजी क्षेत्रको तालिम केन्द्रका रुपमा विकास गर्न सकिने बताउँदै उनले भवनको अधिकतम सदुपयोगका लागि स्थानीयसँगै सरोकार भएका सबैसँग छलफल जारी रहेको जानकारी दिए ।
भरतपुरस्थित सघन सहरी तथा भवन निर्माण आयोजनाले रु पाँच करोड ७६ लाख ७१ हजारको लागतमा भवन निर्माण गरेको हो ।







