काठमाडौँ । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनको सुरक्षालाई लक्षित गर्दै निर्वाचन प्रयोजनका लागि ठूलो संख्यामा सुरक्षा जनशक्ति छनोट गरिएको छ। निर्वाचन व्यवस्थापनका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमार्फत गरी करिब डेढ लाख निर्वाचन प्रहरी चयन गरिएको सम्बन्धित निकायले जनाएको छ।
उपलब्ध विवरणअनुसार, नेपाल प्रहरीअन्तर्गत १ लाख ३३ हजार ९ सय ८० र सशस्त्र प्रहरी बलतर्फ १५ हजार १ सय १० गरी जम्मा १ लाख ४९ हजार ९० जना निर्वाचन प्रहरी छनोट भएका हुन्। उनीहरूलाई तोकिएको निर्वाचन मितिका लागि ४० दिनको कार्यकाल रहने गरी खटाइने व्यवस्था गरिएको छ।
छनोट भएका जनशक्तिलाई सम्बन्धित युनिटमार्फत आधारभूत सुरक्षा तालिम दिन सुरु गरिएको छ। तालिम सुरु भएको मितिबाट नै कार्यावधि गणना हुने प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ। नेपाल प्रहरीतर्फ परिचालित जनशक्तिलाई नेपाल प्रहरी स्वयंले र सशस्त्र प्रहरी बलतर्फ खटिनेलाई सशस्त्र प्रहरी बलले आवश्यक तालिम प्रदान गर्ने व्यवस्था मिलाइएको छ।
करिब १० दिनको तालिम पश्चात् निर्वाचन प्रहरीलाई नियमित सुरक्षाकर्मीसँग समन्वय गर्दै फिल्डमा परिचालन गरिने जनाइएको छ। निर्वाचनको समग्र सुरक्षा व्यवस्थापन सुदृढ बनाउने उद्देश्यका साथ उक्त जनशक्ति परिचालन गरिँदै छ।







